कम्युनिष्ट नेतृत्वको सरकार बनेको भोलिपल्टै आइपुग्यो चिनियाँ प्राविधिक टोली

नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको भोलिपल्ट मंगलबार चिनियाँ विज्ञको टोली काठमाडौं आइपुगेको हो।

नेपालस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गरेर टोलीको नेपाल आगमनबारे जानकारी गराएको छ। दूतावासका अनुसार नेपाल–चीन अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न चिनियाँ विज्ञको पहिलो समूह काठमाडौं आएको हो।

सोमबार मात्रै प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो र त्यसका सदस्यहरूले शपथ तथा पदभार ग्रहण गरेका थिए। कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चीनबाट भएको विज्ञ टोलीको आगमनलाई चासोका साथ हेरिएको छ। चीनमा पनि कम्युनिष्ट पार्टीकै शासन रहेकाले चिनियाँ टोलीको तीव्र नेपाल आगमनलाई महत्त्वका साथ हेरिएकाे हाे।

निर्माण हुने लामो समयको चर्चापछि पनि नेपाल–चीन रेलमार्गको काम अघि बढ्न सकेको छैन। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनसँग नेपालले प्रस्ताव गरेका नौ विकास परियोजनामध्ये केरुङ–काठमाडौं रेलमार्ग एक हो। गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा रेलमार्गको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग गर्ने सम्झौता भएको थियो।

‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्ने नेपाली जनताको लामो समयदेखिको सपना र दुई देशका नेताबीच भएको महत्त्वपूर्ण सहमति हो। यो नेपाल र चीनबीचको बेल्ट एण्ड रोड इनिसिएटिभको संयुक्त निर्माणको अभिन्न अंग पनि हो,’ चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा चीनले नेपालको आकांक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै चीनको अनुदानमा सम्भाव्यता अध्ययनलाई सक्रियतापूर्वक अगाडि बढाउने छ। हिमालयपारि बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने लक्ष्यका साथ संयुक्त रूपमा अगाडि बढ्ने कार्यमा दुवै देशले निकट सम्पर्क र समन्वय कायम गर्नेछन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर