बागमतीका सांसदले लिए शपथ, पुस १८ मा प्रदेश सभा अधिवेशन आह्वान

बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेश सभाका नवनिर्वाचित एक सय नौ प्रदेश सभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

हेटौँडास्थित बागमती प्रदेश सभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य छन् ।

प्रदेश सभाको बैठक पुस १८ गते आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गरेअनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेश सभाको बैठक पुस १८ गतेलाई आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *