मापदण्ड तयार गरी कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी कर्मचारीको सरुवा बढुवा – गृहमन्त्री

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर कारबाही अघि बढाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन्। उनले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागुऔषध बिक्रीवितरण र सेवनलाई पूर्णतः निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्नसमेत निर्देशन दिए।

महिला, बालबालिका ज्येष्ष्ठ नागरिकहरूको सन्दर्भमा अझ बढी संवेदनशिल भएर सोहीअनुसार सेवा प्रवाह गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिए।

गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवं भिडियो कन्फरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गरेका हुन्। सो क्रममा उनले जस्तोसुकै विषम परिस्थितिमा पनि किञ्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुव्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका प्रहरीले निर्वाह गर्दै आएको बताए।

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनले सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरुरूप्रति उनले सम्मान प्रकट गरे। उनले संगठनको विकास र विस्तार तथा प्रहरी कर्मचारीहरूको वृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिइने बताए। उनले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरूको भौतिक संरचनाहरू छैनन्। तल्लो तहका प्रहरी कर्मचारीहरू ब्यारेकमा कष्टपूर्ण तरिकाले सुत्नु परेको अवस्था छ। प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरूको लागि आवासगृह छैन। स्केलमा पाउनुपर्ने सामानहरू समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ। महँगीअनुसारको रासनको व्यवस्था नहुने अवस्थाको अब अन्त्य गरिनुपर्छ ।’

प्रविधिको विकाससंगै त्यसको दुरुपयोगबाट सिर्जित अपराधको अनुसन्धानको चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई मजबुत बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकतामा रहेको उनले बताए। उनले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण बनाउन मन्त्रालयबाट सहयोग र सहजीकरण गर्न सदैव तत्पर रहेको बताए।

नागरिकको अपेक्षाअनुरूपको चुस्तदुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहीनताको अन्त्यका साथै भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न निर्देशन दिए।

गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको सिलसिलामा कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भई प्रयोग गर्न सबै प्रहरी कर्मचारीहरू दत्तचित्त र आ–आफ्नो ठाउँबाट इमान्दार भएर कार्यसम्पदान गर्नुपर्ने बताए। सरुवा, बढुवा र वृत्ति विकासको लागि मापदण्ड तयार गरी लागू गरिने र मापदण्ड र कार्यसम्पादनको मूल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने उनले बताए।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहमन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए।संगठनले प्राप्त गरेको गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र ऊर्जावान् हुने विश्वास व्यक्त गर्दै संगठनको नीतिअनुरूप कार्यसम्पादनको मूल्यांकनको आधारमा सरुवा, बढुवा पारदर्शी रूपमा हुने एवं प्रहरी अधिकृतहरूको सरुवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताए।

निरीक्षण भ्रमाणमा गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।
सो क्रममा लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवाप्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्वहरू ः नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकीकरण गरेका थिए।

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्यसम्पादनमा प्रभाव पर्ने तत्त्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले अध्ययन गरी तयार पारिएको ‘सेवाप्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्वहरू ः नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’मा कार्यवातावरण, कार्यसन्तुष्टि, कार्यउत्प्रेरणा र कार्यसम्पादनलाई एकअर्काको परिपूरकको रूपमा अन्तरसम्बन्धित रहेको देखाएको छ। देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तर्वार्ता तथा सुपरीवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्यांक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ।

यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदन देशभरबाट कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको हो।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेसमक्ष प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्यांकक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौती, भावी योजना र अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए। सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दासम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर