पोखरावासीको पाँच दशक लामो विमानस्थल सपना साकार : सार्वजनिक बिदासहित भोलि तामझामका साथ उद्घाटन

पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले शनिबार एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा, ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, ‘पाँच दशक लामो प्रतीक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौं ।’

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थल समुद्घाटनअघि महानगरले बिहान अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको र्‍यालीको आयोजना गरिने जनाएको छ । पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर