पोखरा विमानस्थलले सिंगो मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको साम कबुल गरेको उल्लेख गर्दै सोहीअनुसार आफूले काम गर्ने बताएका हुन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले सो विमानस्थल निर्माणका लागि आफूले लिएका पहलकदमीबारे चर्चा गर्दै आफैंले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत बताए । उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताए ।

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा ठोस योगदान पुर्‍याउने स्पष्ट पारे । कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पुर्‍याएका पूर्वपर्यटनमन्त्रीहरूलाई पनि सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर