१६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली विक्रेता र उपभोक्तालाई जानकारी दिने उदेश्यले ‘१६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल जुत्ता उत्पादक संघले प्रदर्शनीबारे जानकारी दिएको हो ।

प्रदर्शनी संयोजक सूरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी हुनु रहेको बताए । उनले भने, ‘बजार अनुगमन गर्ने क्रममा ग्राहकसँगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।’

देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने उनकाे भनाइ छ । प्रदर्शनीमा विदेशी कच्च पदार्थ, मेसिनरी र प्रविधिसहितको ४० भन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

संघका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए ।

उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *