मन्त्रालयहरूको कामकारबाहीबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन् ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरूको कामकारबाही जानकारी लिने काम सुरु गरेको सरकारका मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए । त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्री दाहालसमक्ष ब्रिफिङ गरेका थिए ।

मुख्य सचिव वैरागीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोलि आउँछ । हामी छलफलकै क्रममा छौं । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केही निकायहरू बाँकी छन् । त्यो भोलि सबैको विवरण लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रूपमा विभिन मन्त्रालय, निकायहरूले कसरी काम गरिरहेका छन् ? के भइराखेको छ ? हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वाभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरूले आ–आफ्नो मन्त्रालयका इस्युहरू र आफूले भोग्नुपरेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोलि हुन्छ ।’

तर सबै मन्त्रालयका सचिवहरूले आजै सबै विवरण भने प्रधानमन्त्रीसमक्ष पेस गर्न सकेका छैनन् । मुख्यसचिव वैरागीका अनुसार भोलि पुनः छलफल हुने र प्रधानमन्त्री दाहालले सचिवहरूलाई निर्देशन दिनेछन् ।

प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन् । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *