सशस्त्र प्रहरीले जारी गर्‍याे आचरणसम्बन्धी स्थायी आदेश, भेटघाटदेखि सूचना सम्प्रेषणसम्ममा कडाइ

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना कर्मचारीहरूलाई कूटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश, २०७९ जारी गरेको छ।

यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनैतिक दलका नेताहरूलाई भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरीले सो स्थायी आदेश जारी गरेको हो। यससँगै अब सशस्त्र प्रहरीका कर्मचारीले भेटघाट गर्नुपरेमा आचारणसम्बन्धी स्थायी आदेशनुसार अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भएको छ। यसबाट आफूखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुने विश्वास सशस्त्र प्रहरीको छ।

सशस्त्र प्रहरी कर्मचारीहरूले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने छ। यसैगरी कूटनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कूटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएअनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ।

साथै सशस्त्र प्रहरी बल, नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कको लागि र विभिन्न सञ्चारमाध्यहरूसँग सम्पर्क एवं अन्तर्वार्ताको लागि दुई वटा स्वीकृतिको निवेदन फारमसमेत जारी गरेको छ। भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्रांकित अधिकृतहरूले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालबाट सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमार्फत् सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृति लिनुपर्नेछ।

यस्तै राजपत्र अनंकित कर्मचारीहरूले आफू कार्यरत कार्यालयमार्फत् सिलसिलेवार मानवस्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्नेछ र सो स्वीकृतिको जानकारी मानवस्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनु पर्नेछ। यसरी स्वीकृति लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्ने छ।

यसका साथै सो स्थायी आदेशमा विभिन्न सञ्चारमाध्यहरूमा सम्पर्क तथा सूचना आदानप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्ने र मातहत इकाइका सूचना अधिकारीहरूले सशस्त्र प्रहरी बल, नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल, नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने उल्लेख छ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरूबाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले सञ्चारमाध्यममा कुनै पनि सूचना सम्प्रेषण गर्नुपरेमा वा अन्तर्वार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिएअनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्तामार्फत् सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्ने छ।

यस्तै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्तिगत विषयमा कुनै पनि पिरमर्का, गुनासो तथा सुझावहरू भएमा बाह्य व्यक्ति तथा निकायहरूमा सम्पर्क नगरी सशस्त्र प्रहरी प्रवक्ताको मोवाइल नम्बर ९८५१२७२००७, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको मोबाइल नम्बर ९८५१२६०७३६, ईमेल [email protected] वा सशस्त्र प्रहरी बल, नेपालको वेबसाइट https://www.apf.gov.np/ मा रहेको गुनासो/सुझाव फारम भरी दिन सकिने आचरणसम्बन्धी स्थायी आदेशमा व्यवस्था रहेको छ।

सो आचरणसम्बन्धी स्थायी आदेश कडाइका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण मातहत इकाइहरूलाई निर्देशन दिएका छन्। साथै कुनै पनि कर्मचारीले आचरणसम्बन्धी स्थायी आदेशविपरीत कार्य गरेको पाइएमा सशस्त्र प्रहरी नियमावलीबमोजिम कडाभन्दा कडा विभागीय सजाय हुने स्मरणसमेत गराइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर