निष्ठापूर्वक गरेको काममा प्रहरी संगठनको सदैव साथ रहन्छ : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरूबीच प्रदेशस्तरीय शान्ति सुव्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक सोमबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फरेन्समार्फत् सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए ।

सार्वजनिक सुरक्षा अमनचयन कायम गर्न र संगठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा समेत संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैं खाँचो रहने हुनाले सोहीअनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे ।

स्थानीय तहको साथै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूको योगदान सराहनीय रहेको उल्लेख गर्दै अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसालगायतका अपराध निस्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्नेमा उनले जोड दिए । प्रहरीले औचित्य पुष्टि हुनेगरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका कामकारबाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए ।

बैठकको आरम्भमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सातवटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका कामकारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणको क्रममा उनीहरूले सुरक्षा चुनौती, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नुपरेका चुनौती र पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान् बनाउन अंगीकार गरिएका नवीनतम् कार्यहरूलगायतका विषयमा समेत विस्तृत जानकारी गराएका थिए ।

बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर