सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेश सभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७६ सहित) लाई स्वीकार गरियोस् भनी पेस गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकको कारबाही प्रारम्भ गर्दै ज्येष्ठ सदस्य रावलले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै प्रदेशसभाको गरिमा कायम राखेर कार्यकाल उपलब्धिपूर्ण बनाउनमा प्रदेश सभाका सदस्य सफल हुने विश्वास व्यक्त गरे । ज्येष्ठ सदस्य रावलले प्रदेश सभा नियमावलीबमोजिम आफ्नो अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता गर्न प्रदेश सभा सदस्य पृथ्बीबहादुर सिंह, जानकीदेवी कुवँर, चक्र मल्ल, खुशीराम चौधरी र माया पन्तलाई मनोनयन गरिएको सदनलाई जानकारी गराए ।

बैठकमा दिइएको विशेष समयमा प्रदेश सभा सदस्यले प्रदेश सभाको पाँच वर्षे कार्यकाललाई प्रदेशको समृद्धिको पक्षमा लैजान सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिए । पहिलो बैठकको विशेष समयमा नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, राप्रापाका खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले समसामयिक विषयमा बोलेका थिए ।

यसअघि ज्येष्ठ सदस्य रावलले प्रदेश सभाका सभामुखको निर्वाचन यही पुस २८ गते तोकिएको जानकारी दिए । प्रदेश सभाको अर्को बैठक यही पुस २८ गते तोकिएको छ । राज्यको पुनःसंरचनापछि गठन भएको प्रदेश सभाको यो दोस्रो कार्यकाल हो । त्रिपन्न सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर