जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया कार्यक्रममा उनले केही कानूनी जटिलताकाबीच पनि सङ्घ र प्रदेश सभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ ।’ अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिए । मुलुकको संविधानको व्यवस्थाअनुरुप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश सभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै कमिकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताए । ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ,’ उनले भने, ‘सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।’

उनले प्रदेश सभालाई प्रभावकारी बनाउन र जनआकांक्षाअनुरुप काम गर्न स्पिकर्स फोरमको महत्वपूर्ण भूमिका हुने भन्दै सातै प्रदेशमा अन्तरक्रिया गरेर प्रदेश सभाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश सभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याए । उनले जनप्रतिनिधि कानून बनाउने भन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी सङ्घ र प्रदेश सभालाई कानुनमार्फत् प्रभावकारी थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

‘सङ्घ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरुप अधिकार सम्पन्न बनाउन सकिएको छैन । केन्द्रिकृत प्रवृत्ति हाबी भइरहेको छ, त्यसकारण प्रणालीलाई ठीक ढङ्गले चलाउन कठिन भएकै सन्दर्भमा जनचाहना बमोजिम राष्ट्रियसभाको कामलाई प्रभावकारी बनाइनुपर्छ,’ पूर्वसभामुखसमेत रहेका नेता पौडेलले भने ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताए । उनले आवश्यक ऐन, कानून बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेश सभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थान तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संसदीय प्रणालीलाई बलियो र प्रभावकारी बनाउन जनप्रतिनिधि जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष शशिकला दाहालले सङ्घ र प्रदेशको प्रभावकारी समन्वयमा सुशासन र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिइन् । कर्णाली प्रदेशका निवर्तमान सभामुख एवं स्पिकर्स फोरमका संयोजक राजबहादुर शाहीले लामो बलिदानिपूर्ण सङ्घर्षबाट अहिलेको व्यवस्था आएको भन्दै सङ्घ र प्रदेशबीचको सम्बन्ध स्थापित गर्न फोरमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सङ्घ र प्रदेश सरकारबीच पुलको भूमिका निर्बाह गरी जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेश सभाका निवर्तमान सभामुख र उपसभामुखहरुको साझा फोरमको रुपमा स्पिकर्स फोरम स्थापना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर