पारिश्रमिकको विषयले टी–२० लिगमा झमेला

नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित प्रतियोगिता काठमाडौंमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेल मध्येको २१ खेलमा खेलाडीले पारिश्रमिकको माग राख्दै विरोध गरेपछि खेल निर्धारित समयभन्दा केही घण्टा पछि धकेलियो ।

पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको बेला काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको बताएका छन् ।

पारिश्रमिको विषयलाई उठाउँदै खेलाडी विरोधमा उत्रिएपछि मंगलवार तय भएको काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीचको खेल शुरु हुनुअघि खेलाडीहरु विरोधमा उत्रिए । खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै बिरोध गरेपछि निर्धारित समयमा खेल शुरु हुन सकेको थिएन । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले पारिश्रमिकको सुनिश्चिताको जिम्मा लिएपछि खेलाडी खेल्न राजी भएका थिए ।

क्यानको बहुप्रतिक्षित प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा चलिरहँदा नेपाल टी–२० लिगमा धेरै प्रश्नहरु उब्जिएका छन् । विवादपछि सुचारु भएको खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका सदस्य समेत रहेका काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको बतए । कप्तान मल्लले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा प्रश्ताव आएको तर त्यो विषयमा आइसिसीको एन्टी करप्सन युनिट (एनसीयू) लाई जानकारी गराएको बताए ।

सञ्चालनमा आइरहेका सबै फ्रेन्चाईज लिगलाई बन्द गर्दै क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरुले मैदानबाटै माग राखेका छन् । मंगलवारको खेल सुचारु हुनपूर्व क्यान पदाधिकारीले खेलाडीलाई आश्वासन दिँदै मैदान प्रवेश गर्न आग्रह गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले टिम व्यवस्थापन र आयोजकसमक्ष पारिश्रमिकको माग क्यानसँग राखेको र बुधवारसम्म पारिश्रमिक दिलाउने आश्वासनपछि सहमति भएको बताए ।

विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए । पौडेलले बुधवारसम्म नेपाली र विदेशी सबै खेलाडीले पूरै पारिश्रमिक पाउने प्रतिवद्धता प्राप्त भएको पनि जानकारी दिए । प्रतियोगिताबापतको परिश्रमिकको विषयमा खेलाडीले मैदानमा नै माग राख्नुले खेलाडीको क्रिकेट खेल्ने भावनामा ठेस लाग्ने बताए । पौडेलले यस्तो सम्मस्या आगामी खेलअघि नै समाधान हुने विश्वास समेत व्यक्त गरे ।

खेलअघि खेलाडीले मैदानबाटै पारिश्रमिकको माग गर्नुले क्यानले आयोजना गरेको लिगको फितलोपन उजागर भएको छ । साथै आयोजकको जिम्मेवारी के कति हो भन्ने पनि प्रश्न उब्जिएको छ । आयोजनाको जिम्मा सेभेन थ्री स्पोट्र्सलाई दिने/नदिने भन्ने विषयमा क्यानभित्रै खेमा बनिरहेको छ । विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, परिश्रमिक सहमति अनुसार उपलब्ध नहुनले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका हुन् । पारिश्रमिकको विषय सहभागि क्लवका मालिक र क्यानले समयमा नै समाधान नगरे थप पेचिलो हुने निश्चत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *