कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गरिनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनका लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषियोग्य जमिनमा प्लटिङ गरी बस्ती बसाउने क्रम बढेको भन्दै सो कुरा बताएका हुन् ।

उनले सरकारको पहिलो काम नै कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने हुनुपर्ने बताए । उनले कृषियोग्य जमिनमा बस्ती बसाउनाले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको दाबी गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिए पनि दबाबका कारण काम गर्न नसकेको देखिएको बताए । उनले सरकारले कृषियोग्य जमिनलाई खण्डीकरण गर्ने नभएर बचाउनुपर्ने बताए । उनले नेपाल कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपाल कृषिप्रधान देश मात्रै नभएर कृषिमा आत्मनिर्भर भएर कृषि निर्यातमूलक देश बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले देशमा ठूला उद्योगधन्दाहरू स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरूसँग प्रतिस्पर्धा गर्न समस्या रहेको भन्दै देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।

उनले नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अग्र्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउन सकिने बताए । उनले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन, बजार व्यवस्थापन र ढुवानीसमेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारीसमेत सिर्जना हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरू कृषि उत्पादनमा बाधक भए कानून संशोधन गरेर किसानमुखी कानून बनाउनुपर्ने बताए । उनले किसानमुखी कानून भए मात्रै किसानहरूको हित हुने दाबी गरे । उनले नेपाली माटोमा उत्पादन भएका अर्ग्यानिक वस्तु प्रशोधन गरेर बेच्न सके दुनियाँका जुनसुकै देशले किन्न सक्ने बताए ।

उनले नेपाली कृषि उत्पादनलाई अब अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्ने गरी उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपाली उत्पादनहरूलाई अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपीराइट गरेको हुनसक्ने भन्दै अब नेपाली उत्पादनलाई नेपालमा नै उत्पादन भएको भनेर दर्ता गर्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *