सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पाेर्ट्ससँगको सहकार्य टुट्छ : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पाेर्ट्ससँगको सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् ।

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरशः पालना नभए रद्द गर्ने बताएका हुन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौताअनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए ।

सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पाेर्ट्ससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुनेसमेत बताए ।

पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ताबापत १ करोड २० लाख दिइसकेको र बिहीबार एक करोड पठाएको अध्यक्ष चन्दले बताए । सम्झौताअनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरू खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए ।

चन्दले केही टोलीको पारिश्रमिक मालिकहरूले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधिभर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रूपमा आयोजना हुने बताए ।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टिकाटिप्पणी हुन थालेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *