राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं : कांग्रेस प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रस्ट्याएका हुन् ।

उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेबारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारीसमेत दिए ।

आफूहरू अहिले पार्टी संसदीय दलको शनिबार बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनेछन् । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर