गोरखामा स्कुलबाटै दुई दिनदेखि हराएका चार किशोरी भेटिए

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू शुक्रबार तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

‘हराएका सबै चार किशोरी दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो,’ उनले भने, ‘उनीहरूलाई गोरखा ल्याउने तयारी भइरहेको छ ।’ महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगीता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहीद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।

किशोरीहरू विद्यालयबाट सम्र्पकविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । हराएमध्येकी एक सरिता परियार आफन्तको घरमा भेटिएको प्रहरी उपरीक्षक खनालले बताए । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा परियारको उक्साहटमा उनीहरू विद्यालयबाट भागेको पाइएको उनले जनाए ।

बरादीबाट शुक्रबार पोखरातर्फ जाने तयारी गरिरहेको अवस्थामा किशोरीहरू फेला परेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *