देशकै ठूलो बैंक बनेपछि हाम्रो जिम्मेवारी झनै थपियो : चन्द्र ढकाल

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् ।

शनिबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भएपछि संयुक्त कारोबार हुने खुशियालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको वाककथनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले यस्तो बताएका हुन् ।

पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । उनले देशकै ठूलो बैंक भएपछि आफूहरूले बैंकिङ क्षेत्रमा करिब १० प्रतिशत हिस्सा लिने बताए । उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको पनि बताए ।

उनले आगामी दिनमा बैंकका सेवा विस्तार गरी, चुस्तदुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रूपमा डिपोजिट वा व्यवसाय गर्नका लागि लगानी दिने बैंकका रूपमा अघि बढाउने बताए ।

उनले भने, ‘ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । बैंकिङ क्षेत्रको कुरा गर्दा करिब १० प्रतिशत हिस्सा हामीले लिनेछौं । बैंक स्थापना भएको १६ वर्षमा हामी नेपालकै सबैभन्दा ठूलो बैंक बनेका छौं । आउने दिनमा हाम्रो गुणस्तर र सर्भिसलाई चुस्त र दुरुस्त हिसाबले अघि बढाउनेछौं । सबै नेपालीको बैंकको रूपमा डिपोजिट वा व्यवसाय गर्नको लागि अघि बढ्नेछौं ।’

दुई बैंकहरूको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ । मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४०८ अर्ब रुपैयाँ, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर