मर्जरको अवसरमा ग्लोबल आईएमई र बीओकेको देशव्यापी प्रभातफेरी

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन्।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रूपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन्।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले यही पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन्।

प्रभातफेरीमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यकाबाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४०० अर्ब रुपैयाँ र कुल कर्जा ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

दुई बैंकहरूको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर