प्रहरीमा एफपीयू मिशनलाई पुनः निरन्तरता दिने तयारी भइरहेको छ : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरीमा शान्ति मिशनले पुनः निरन्तरता पाउने बताएका छन् । त्यसका लागि प्रहरी संगठनले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ । चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको शनिबार निरीक्षणपछि निर्देशन–सम्बोधनका क्रममा महानिरीक्षक सिंहले यस्तो बताएका हुन् ।

सुडानस्थित राष्ट्रसंघीय शान्ति मिशन (युनामिड)मा नेपाली सेना र सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि जाँदै आएको थियो । तर, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले ३१ डिसेम्बर २०२० मा उक्त मिशन बन्द गरेपछि प्रहरीको शान्ति मिशन सपना अधुरो रहन पुगेको थियो किनकि त्यो नै नेपाल प्रहरीको एक मात्र एफपीयू मिशन थियो ।

प्रहरीमा शान्ति मिशन रोकिएको लामो समयपछि महानिरीक्षक सिंहले शान्ति मिशनको निरन्तरताका लागि आवश्यक तयारी भइरहेको बताएका हुन् ।

महानिरीक्षक सिंहले शिक्षालयको निरीक्षणका क्रममा प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, एमआई रूम, लाइब्रेरीलगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गरे ।

निरीक्षणपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई निर्देशनसमेत दिएका छन् ।

निर्देशन–सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकाले अनुशासन, प्रशिक्षण, स्रोत आदिको उचित प्रबन्धन मिलाएर नमूना हुन जरुरी रहेको चर्चा गरे । उनले भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकाले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थीप्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिए ।

प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकाले शिक्षालयका निर्देशकलगायत समग्र टिमलाई तालिमलाई थप प्रभावकारी र समयसापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन उनले आग्रह गरे ।

प्रहरी महानिरीक्षक सिंहले तालिम सञ्चालन पद्धतिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकासलगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई सम्बोधन गरी लागू भएको ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९’ मा आधारित रही प्रशिक्षण गतिविधिहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न निर्देशन दिए ।

सो अवसरमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायवबमहानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गर्दै सीमित स्रोत साधनका बीच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गराएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक शुद्धीकरण र सुदृढीकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको उल्लेख गरे । साथै उनले शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा अवगत गराउएका थिए भने शिक्षालयका उपनिर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर