एक हुँदै प्रचण्ड र बाबुराम

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताए। सो समितिलाई माओवादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनले बताए।

अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन–२०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो।

आगामी कार्ययोजनाअन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ। सहअध्यक्ष श्रेष्ठले बैठक सोमबारसम्म चल्ने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *