सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसंगठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ।

अध्यक्ष ओलीले सांकेतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पु¥याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पु¥याउन सक्छ,’ उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्,’ उनले भने ।

एमालेमा जनसंगठनको असाधारण महत्त्व रहेको उनको धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर