गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज अपराह्न ४ बजे सकिँदैछ । एमालेका प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरिने बताए।

‘बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तम्तयार अवस्थामा छौं,’ उनले भने, ‘अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ। विश्वासको मत लिने बेलासम्म संख्या अझ बढ्न सक्छ।’

प्रदेश सभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा (माओवादी केन्द्र) को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ। जुन सरकार गठनका लागि बहुमत संख्याया हो। प्रदेश सभाका कुल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। सत्तारूढ दलहरूबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुंगो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो।

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित भएका थिए। वि.सं. २०७४ मा कास्की १ बट निर्वाचित भएर संघीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी वि.सं. २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए।

दोस्रो संविधान सभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। कास्कीको लेखनाथमा वि.सं. २०१८ चैत २५ मा जन्मेका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए।

वि.सं. २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बिताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए। अधिकारीको संसदीय यात्रा वि.सं. २०५१ देखि सुरु भएको थियो।

उनी पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य छन्। अधिकारी एमालेको संगठन विभाग प्रमुखसमेत छन्। एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उनले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सहइञ्जार्चको जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर