ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक हो : चन्द्र ढकाल

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन्।

सोमबार ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोबल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरेका हुन्।

उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए। उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरले बैंकका अधिकांश वित्तीय सूचकहरूमा ग्लोबल आईएमई बैंक नेपालको पहिलो बैंकको रूपमा स्थापित भएको बताए।

अध्यक्ष ढकालले बैंक अफ काठमाण्डूसँगको मर्जरसमेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मिलेर ग्लोबल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताए। उनले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताए।

उनले नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक कुल पुँजी, निक्षेप,कर्जा शाखा सञ्जालका आधारमा देशकै ठूलो बैंक भएको बताए। उनले बैंक आकार र पुँजीका आधारमा ठूलो हुनु मात्रै सफलता नभएको भन्दै आकारको यो वृद्धिले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताए।

उनले मुलुकका सबै क्षेत्रका नागरिकलाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पुर्‍याउने बैंकका रूपमा अघि बढिरहेकाको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताए।

उनले मर्जरपछि कुल पुँजीकोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पत्ति ५ खर्ब, शाखा सञ्जाल १ हजार १ सय र सेवा प्रवाह भएका जिल्लाहरू ७७ रहेको बताए। उनले ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरू र ४ हजार बढी कर्मचारीहरू रहेको पनि बताए। उनले बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर दक्षिण कोरियामा नेपालको पहिलो वैदेशिक शाखा सञ्चालन अन्तिम तयारीमा रहेको बताए।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको बताए। उनले बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको बताए।

उनले खाडीमा रहेका नेपालीहरूले दुःख गरेर कमाएको रेमिट्यान्स घरघरमा पुर्‍याउन सेवा सुरु गरेको आईएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रूपमा स्थापित भएको बताए।

उनले पेसा र व्यवसायीको सफलताको सूत्र इमानदारिता भएको भन्दै आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता रहेको बताए। आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर