आम नागरिकको आशाको दियो निभ्न दिने छैन : गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्नहरूलाई छुटाउनका लागि कुनै पनि दबाब र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गरे। उनले आफू र आफ्नो दलमा सम्बद्ध सांसदहरूले भ्रष्टाचारलगायतका नागरिकहरूलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमानदारिताका साथ योगदान पुर्‍याउने उनले बताए। उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि बताए।

सरकार गठनका बेला सत्ता साझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिबद्धताबाट आफूहरू हौसिएको उल्लेख गर्दै त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उनको भनाइ थियो। उपप्रधानमन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढतासमेत व्यक्त गरे।

उपप्रधानमन्त्री लामिछानेले जनमतलाई सम्मान गरेर आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए। जनमतअनुसार सरकार बनेको र जनताको अपेक्षाअनुसार काम हुनेगरी सरकारले साझा न्यूनतम कार्यक्रम ल्याएको उनको भनाइ थियो।

उपप्रधानमन्त्री लामिछानेले जनताको चाहनाअनुसार सरकारलाई अघि बढाउन रचनात्मक सुझाव दिन प्रतिपक्ष दलहरूलाई पनि आग्रह गरे। उनले जनताको अपेक्षाअनुसार काम नभए मुलुकमा निराशा छाउने भएकाले त्यसो हुन नदिन संसद् र सबै राजनीतिक दलहरू सचेत रहनुपर्ने बताए।

उपप्रधानमन्त्री लामिछानेले नेपाली जनताले विगतमा भएको बेथितिबाट मुक्ति चाहेकाले सरकार त्यसको अन्त्य गर्न लागिपरेको बताए। उपप्रधानमन्त्री लामिछानेले आफूले सम्हालेको मन्त्रालयमा सुधारका संकेत देखिएको दाबी गर्दै त्यसमा साथ दिन पनि सबै पक्षलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर