कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम हुन्छ : गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका हुन्। उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरूले पाएको मत जनताले बजाएको घण्टीको ध्वनि भएको स्पष्ट पारे।

उनले भने, ‘म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाको मत भन्न चाहन्छु। सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो।’

उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भने, ‘नयाँ दललाई नमात्तिने गरी मत दिएका हुन् र पुराना दलहरूलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन्।’

नयाँ पार्टीको उदय नेपाली राजनीतिका लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताए। नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरूले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटकपटक व्यक्त गरेकोसमेत स्मरण गरे।

उनले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उनको जोड थियो।

सरकारको कामकारबाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने, अड्काउने काम नगरी सघाउनेछन् भन्ने आशा व्यक्त गरे। लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ। संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ।’ भ्रष्टाचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पर्न नहुने उनको कथन छ।

विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि गलत काममा सहभागी नहुने र नागरिकलाई दुःख नदिने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर