देशकै ठूलो बैंक ग्लोबल आईएमईका अध्यक्ष चन्द्र ढकालले लिए शपथ

बैंक अफ काठमाण्डूसँग मर्जरपछि देशकै सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार उनलाई शपथ खुवाएका हुन्।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि सोमबारबाट नै एकीकृत कारोबार सुरु भएको हो। कुल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको छ।

सोमबार एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आईएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए। मुलुकको वित्तीय क्षेत्रको कुल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उनको दाबी छ।

‘यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौं। तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौं। योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौं,’ ढकालले भने।

एकीकृत कारोबारपछि बैंकको कुल पुँजी कोष ५७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलन चार खर्ब १० अर्ब, कर्जा प्रवाह चार खर्ब र कुल सम्पत्ति पाँच खर्ब रुपैयाँ पुगेको छ। बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याएको छ। हाल ग्लोबल आईएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन्। दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आईएमई बैंक छ। बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ। ‘मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौं। सरकारको यो नीतिको कार्यान्वयनबाट अरू बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौं,’ उनले भने।

बैंकको आकार र वित्तीय सूचकांकमा ठूलो देखिनु मात्र सफलता नभई मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ।

‘मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पुयाउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौं,’ उनले भने।

ठूलो बैंक हुनुका पछाडि अवसर मात्र नभएर कैयौं चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ। पटकपटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रूपमा विकास गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे।

बैंकहरूको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरूले सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ। ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर