वर्तमान सरकार स्थिर र स्थायी रूपमा चल्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रूपमा चल्ने बताएका छन्।

सोमबार ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताएका हुन्। उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रूपमा चल्ने बताए।

उनले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गरे। आफूहरू सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले कर्मचारीहरूलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे। उनले सरकारलाई नेकपा (एमाले)ले सम्पूर्ण रूपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे।

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसद्मा भएका सबै राजनीतिक दलहरूलाई आग्रह गरे। उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरूले छिटोछिटो नभई सुविचारित ढंगले सरकार निर्माण गरेको बताए। उनले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल सुरुवात भएको भन्दै धरै छलफलपछि मात्रै यो सरकार बनाइएको प्रस्ट पारे।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरूलाई आग्रह गरे। उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताए। उनले आफूहरू कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडि बढ्ने बताए। सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उनको भनाइ छ।

उनले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमअनुसार काम गर्नेमा विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर