संसद् विघटनबारे देउवा–ओली जुहारी

संसद् विघटनको विषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जुहारी चलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावमाथि छलफलका क्रममा दुई नेताहरूबीच सवालजवाफ चलेकाे हाे।

प्रस्ताव प्रस्तुत भएपछि सुरुमा बोलेका देउवाले संसद् विघटन गर्न सकिने ओलीको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए। सोमबार ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा संसद् विघटन गर्नु प्रतिगमन नहुने बताएका थिए। ओलीको प्रधानमन्त्रीकालमा दुई पटक संसद् विघटन भएको थियो।

‘नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार उठाउनुभएको छ,’  संसद्मा बोल्दै देउवाले भने, ‘संविधान पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं। संविधानअनुसार विघटित संसद् पुनर्स्थापना भएको थियो।’

ओलीले संविधानका व्यवस्थाप्रति चुनौती दिएकाले त्यसमा खरो रूपमा उत्रने चुनौती आफूहरूका सामु आएको देउवाले बताए।

संविधान रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेस पुगेकाे उनकाे भनाइ थियाे। तर, सरकारमा भने कांग्रेस सामेल नहुने देउवाले बताए।

देउवापछि सम्बोधन गरेका ओलीले भने उल्टै देउवा नै संसद् विघटनको गुरु रहेको बताए। राजनीतिक घटनाक्रमलाई आफूअनुकूल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।

‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन्? होइन। २०४८ को संसद्लाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो, म होइन। गुरुजी, आफूले कति पटक संसद् विघटन गरियो? मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद् विघटन गरेको तपाईंले होइन?,’ उनले भने।

देउवाले त्यसबेला संसद् विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद् विघटन गरेर जनतामा जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *