प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन, हेक्का रहोस् : माधव नेपाल

नेकपा ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सदनमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले अधिकारको मागसँगै कर्तव्यप्रति उत्तिकै जिम्मेवार नबनेको परिस्थितिमा सरकारले भने जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘मुलुकमा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएर अघि बढ्न सके देशका लागि ठूलो काम भएको मानिनेछ।’ पूर्वपश्चिम राजमार्गलाई खाल्डाखुल्डीविहीन तुल्याउन, द्रुतमार्गलाई छिटो अघि बढाउने, चुरे संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् भन्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘शिक्षा र स्वास्थ्यलाई जोड दिँदै कार्यशैली परिवर्तन, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान दिइयोस्।’

आफूहरूले चाहेको व्यक्ति नै प्रधानमन्त्री भएको र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत समर्थन गरिसकेपछि विश्वासको मतसम्बन्धी विषय स्वतः अघि बढिसकेको उनको भनाइ थियो।

उनले सरकारलाई आफ्नो पार्टीका तर्फबाट समर्थन गर्दै विश्वासको मत दिने प्रतिबद्धता जनाए।

एक प्रसंगमा उनले अहिले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको पाटोमा भने हेक्का गर्न सुझाव दिए। ऊर्जा र पर्यटन विकास, अर्थतन्त्रको सुधार र कृषिको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता औंल्याउँदै उनले संविधानको रक्षा, कानूनको पालना र संघीयताको कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर