सेनाका १७ जना उच्च अधिकारीदेखि बिल्लादारसम्मले पाए ‘प्रकृति संरक्षण पदक’

नेपाली सेनाका १७ जना उच्च अधिकारीदेखि बिल्लादारसम्मले ‘प्रकृति संरक्षण पदक’ पाएका छन्।

देशका विभिन्न स्थानहरूमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूको सुरक्षा जिम्मेवारीमा तैनाथ रही प्रसंशनीय ढंगले योगदान पुर्‍याएको भन्दै उनीहरूलाई उक्त पदक प्रदान गरिएको हो।

मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा कार्यरत १ जना रथी, १२ जना अधिकृत, २ जना पदिक र अन्य दर्जाका दुई जनालाई पदक प्रदान गरेका हुन्। जंगी अड्डामै आयोजित कार्यक्रममा पदक प्रदान गरिएको हो।

प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरूप २०७५ जेठ १३ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम संरक्षित क्षेत्रमा रही १ वर्ष योगदान दिएका सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिँदै आइएको छ। हालसम्म १६ हजार १३६ जना सकलदर्जाले उक्त पदक प्राप्त गरिसकेका छन्।

यस वर्ष गत असोज ३ गते संविधान दिवसको अवसरमा २ हजार ८८७ जना सकलदर्जालाई पदक प्रदान गर्ने घोषणा भएको थियो। सोहीअनुसार मंगलबार १७ जनालाई पदक प्रदान गरिएको हो।

मौसमी प्रतिकूलता, भौगोलिक विकटता र चोरी–शिकारीजस्ता चुनौतीहरूमाझ प्रकृति संरक्षण कार्यमा तैनाथ रहँदा हालसम्म ११६ जना सकलदर्जाले सहादत प्राप्त गरिसकेका छन्।

सोमबार आयोजित पदक प्रदान गर्ने कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्कालगायत रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर