एनभीए राष्ट्रिय भलिबल : महिलातर्फ न्यू डायमण्ड र पुलिस सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब र दावाली मिलन क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न मंगलबारको खेलमा नेपाल पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। यससँगै जारी प्रतियोगितामा पुलिस अन्तिम आठमा प्रवेश गर्ने दोस्रो टोली भएको छ भने दावाली तेस्रो टोली बनेको छ। यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तिम आठमा स्थान बनाएको थियो।

पुरुषततर्फ मंगलबार भएको पहिलो खेलमा पुलिसले ढोरपाटनमाथि २४–१२, २५–२० र २५–११ को सहज जित निकाल्न सफल भएको हो र समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्दै पुलिसले एक खेल बाँकी रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो। समूह ‘सी’ मा अपराजित पुलिस २ खेलबाट स्पष्ट ६ अंक जोड्न सफल भएको हो।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा गण्डकीले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। एकपक्षीय भएको खेलमा गण्डकीले २५–१२, २५–१७ र २५–२२ को जित निकाल्न सफल भयो।

पुरुषकै दिनको तेस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब रूपन्देहीलाई पराजित गर्दै दावाली मिलन क्लब पनि प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। दावालीले ३–१ को सेटमा जित हात निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो। दावालीले २१–२५ २५–२१, २५–२२ र २५–२३ जित निकालेको हो।

यस्तै मंगलबार नै महिलातर्फको स्पर्धामा न्यू डायमण्डले एभेरेस्टमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। न्यू डायमण्ड लागातार दोस्रो जित निकालेर एक खेलअगावै अन्तिम चारमा पुगेको हो। डायमण्डको जितसँगै नेपाल पुलिस क्लब पनि एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। एभरेस्ट र नयाँबजार सामाजिक युवा क्लब अंकविहीन हुँदै बाहिरिएका छन्। डायमण्डले एभरेस्टलाई २५–७, २५–१० र २५–१२ ले हराएको हो। यस जितसँगै डायमण्डको समूह ‘ए’ मा २ खेलबाट ६ अंक भएको छ। पुलिसको पनि समान २ खेलबाट ६ अंक छ।

यो समूहको अन्तिम खेलमा डायमण्ड र पुलिस तथा एभरेस्ट र नयाँ बजारबीच प्रतिस्पर्धा हुनेछ। डायमण्ड र पुलिसले समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दा एभरेस्ट र नयाँबजार सान्त्वना जितको खोजीमा हुनेछन्।

यसअघि मंगलबार नै विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुवात गरेको छ। एपीएफले गण्डकीलाई २५–१५, २५–१० र २५–११ को सेटमा पाखा लगाएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता छ। पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन्। दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *