प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध

प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।

बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सभामुखका लागि गौतमको मात्रै उम्मेदवारी परेको थियो। सत्ता गठबन्धनमा भएको भागबण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो। माओवादीले ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो।

नेकपा एमालेका रेवतीरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगरलगायत समर्थक थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए। प्रदेश सभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन्।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ। एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन्।

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर