सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको हो। उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।

लामिछानेले एक १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको आरोप छ। तर, सन्दीपको पक्षले किशोरी १८ वर्षमुनिको नभएको भन्दै आएका छन्।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *