प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश नं. १ र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

प्रदेश सभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका एक प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ।

प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउन लागिएको बताइएको छ। यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक/एक जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसकेका छन्।

त्यस्तै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पनि आजै प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

अपराह्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन्। मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन। एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *