सरकार विकास निर्माणमा तमासा हेरेर बस्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन्। शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन्।

उनले विकास निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताए। उनले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहित सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको बताए।

मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायहरूका प्रमुखहरूसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए। उनले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्य्राइँ र कमजोरी भएको खण्डमा सरकारले छुट नदिने बताए।

उनले सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने बताए।सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम गर्ने पनि बताए। उनले काममा गैरजिम्मेवार हुनेहरूलाई कारबाहीको प्रक्रियामा ल्याउन सरकार नहिच्किचाउने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको बताए। उनले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिबद्धता भएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर