गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका हुन्। नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मतदान गरे।

प्रदेश सभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन्।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेश सभा बैठकमा अनुपस्थित रहे। मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए। एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए।

संघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए। तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍याे।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार गण्डकीमा खगराज प्रदेश सभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन्। तर, माओवादी संसदीय दलका नेता तथा खगराजको पहिलो मन्त्रिपरिषद्का सदस्य हरिबहादुर चुमानले गण्डकीमा पनि आलोपालो नै हुने दाबी गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर