मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली हुन् : वामदेव गौतम

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन्। तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल रहेको उनको भनाइ थियो।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भने, ‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ, त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले)का अध्यक्ष। मलाई धेरै पत्रकारहरूले सोध्नुभएको थियो यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर। मैले भनेँ पात्र त प्रचण्ड नै हो। तर, योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ।’

सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भन्दै दाहाललाई धन्यवादसमेत दिए। उनले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे।

सांसद गौतमले नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने नरहेको जिकिरसमेत गरे। एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाइ थियो। उनले भने,‘नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन। त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ। र, संविधानमा कहीँ पनि छैन। संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ, अरू सबै प्रतिपक्षमा बस्ने स्पष्ट रूपले बताएको छ। यसपटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो।’

सांसद गौतमले कांग्रेस नेताहरूले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढ्न उपयुक्त हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर