पाँच महिनामा ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर, नौ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ९२ अर्ब ७८ करोड बराबर रुपैयाँको थप धितोपत्र सूचीकृत भएको छ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सात अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, पाँच अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल १६ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ। नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य छ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *