नेपालमा इसाई धर्म फैलाउन दक्षिण कोरियाली धर्म प्रचारक सक्रिय

नेपालमा धर्म परिवर्तन गराउन र इसाई धर्मको प्रचार गर्न दक्षिण कोरियाली धर्म प्रचारक सक्रिय रहेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले प्रकाशित गरेको समाचारअनुसार उनीहरु चर्च स्थापना गर्न र नेपालीहरुको धर्म परिवर्तन गराई इसाई बनाउन सक्रिय रहेका छन् ।

नेपालमा मानिसहरूलाई अर्को धर्ममा परिवर्तन गर्नु गैरकानूनी मानिन्छ । तर मिसनरीहरू ईसाई धर्म फैलाउन त्यस्तो मुद्दा लाग्नसक्ने जोखिम मोल्न पनि तयार छन् ।

हिमालको फेदमा रहेको झार्लाङ्ग गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एकजना कोरियाली पास्टर पाङ्ग चाङ्ग–इन्ले भावविभोर भएर आँसु खसाल्दै भने, ‘ येशुको जीत होस् ।’ हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे ।

झार्लाङको नयाँ चर्च – नेपालमा दर्जनौं पास्टरमध्ये एक पाङले खाेलेका हुन् ।

बीबीसीको समाचारअनुसार यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् । उक्त समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दा अघिदेखि रहेको ठानिन्छ ।

पाङको नजरमा तामाङहरू ‘आर्थिक र आध्यात्मिक रूपमा गरिब’ छ । ‘त्यसपछि, एउटा चमत्कार हुन्छ र पूरै गाउँ परिवर्तन हुन्छ,’ उनी भन्छन् ।

बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा इसाइ समुदायको वृद्धि भइरहेको छ, जसमा सहयोगी भूमिका पाङजस्तै धर्म प्रचारक मिसनरीहरु गर्दै आएका छन् । उनीहरुले दलित समुदाय र आदिवासी तथा जनजाति समुदायका मानिसलाई विशेषगरी निसाना बनाउँदै आएको बीबीसीले उल्लेख गरेको छ ।

नेपाल विश्वको सबैभन्दा छिटो दरमा क्रिश्चियन समुदायहरूकाे वृद्धि हुने देश बनिरहेकाे छ । तस्बिर : बीबीसी

पाङले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्ने प्रलोभनमा पारिएको छ ।

इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दशक लामो समयमा पाङले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेको बताएका छन्, जुन काठमाडौंकै नजिक रहेका धादिङ जिल्लामा धेरै छन् । स्थानीयले दिएको जग्गामा उनीहरुले कोरियाली चर्चहरुको सहयोगमा चर्च निर्माण गर्दै आएका छन् । नेपालका धेरैजसो पहाडी क्षेत्रमा चर्चहरु बनिरहेको पाङले दाबी गरे ।

कमल थापा लबिङविरोधी कानून लागू गरेर नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउन चाहन्छन् ।

उनको दाबीमा केही बढाइचढाइ भए पनि पछिल्लो समय नेपालभरि चर्चहरुको संख्यामा भने वृद्धि भएको छ । इसाई समुदायको राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा ७,७५८ चर्चहरू छन् । यस्तो अवस्था आउनुमा दक्षिण कोरियाली धर्म प्रचारकको मुख्य भूमिका छ ।
कोरियाले केही दशकअघि धर्म प्रचारकहरूलाई विदेशमा खटाउन सुरु गरेको थियो । आज यो देश इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक हो । कोरियाली वल्र्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन् ।

नेपाल अहिले धर्म निरपेक्ष राज्य हो र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

पास्टर डिल्लीराम पौडेल भन्छन्, ‘रूपान्तरण येशूबाटै हुनुपर्छ।’

‘धर्म परिवर्तन गराउने विरुद्धको कानुनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौं,’ पाङ्गकी श्रीमती ली जियोङ्ग–हीले भनिन् । तर उनले इसाई धर्म फैलाउन नरोक्ने जनाइन् । उनीहरु दम्पती नै बैंकको जागिर छोडेर सन् २००३ देखि इसाई धर्म प्रचारका लागि नेपालमा छन् ।

हिन्दू राष्ट्रका अभियन्ता तथा नेता कमल थापाले इसाई धर्म नेपालमा फैलिरहेको र यसले नेपालीहरुको सांस्कृति पहिचान धरापमा परेको बताए । मिसनरीहरुले गरिब र सोझासादालाई शोषण गरेको उनको भनाइ छ । उनी कोरियाली धर्म प्रचारको कामलाई ‘देशको सांस्कृतिक पहिचानमाथिको सङ्गठित हमला’ भएको बताउँछन् ।

हाल उक्त कानुन अन्तर्गत मुद्दा लागेकाहरू इसाईहरूमात्रै छन् तर अहिलेसम्म कोही पनि दोषी ठहर भएका छैनन् । त्यस्ता मुद्दाहरू या त प्रमाणको अभावका कारण फिर्ता भएका छन् वा पुनरावेदनमा जाँदा अभियुक्तहरूले सफाइ पाएका छन् ।

डिल्लीराम पौडेल सानाेमा हिन्दू पुजारी थिए ।

नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकार ५ वटा मुद्दाहरू अदालतमा विचाराधीन छन् । दुई महिलासहित चार कोरियालीविरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो ।

नेपाल क्रिस्चियन सोसाइटीका प्रमुख पास्टर डिल्लीराम पौडेल सुरुमात्यस्तो कानुनअन्तर्गत सोधपुछ गरिएकामध्ये व्यक्ति हुन् । उनलाई सन् २०१८ को अप्रिलमा धर्म परिवर्तन गर्न मानिसहरूलाई पैसा दिएको आरोप लागेको थियो । उनी विरुद्धको आरोप पछि फिर्ता लिइयो । उनी आफूमाथिको त्यस्तो आरोप अस्वीकार गर्छन् ।

सपना भन्छिन् कि उनी नयाँ ठाउँहरूमा गएर येशूको सन्देश फैलाउनेछिन् ।

प्रत्येक वर्ष करिब दुई हजार नेपाली विद्यार्थी पढ्नका लागि कोरियामा जाने गर्छन् । उनीहरु कोरियास्थित स्थानीय चर्चहरूसँग सम्पर्क गर्ने नेपालमा रहेका एक कोरियाली प्रचारकले बताए ।

पाङ्ग र उनकी पत्नीले काठमाण्डूमा सेमिनरी (धर्मबारे पढाइ हुने स्थान) विद्यालय चलाउँछन्, जहाँ करिब ५० विद्यार्थीहरू अहिले अध्ययनरत छन् । यसको खर्च कोरियाली चर्चका दाताले दिन्छन् । २२ वर्षीया सपना तामाङ पनि त्यही विद्यालयमा पढ्छिन् । उनी दुर्गम सिनगांगको तामाङ गाउँकी हुन् । उनी बिरामी भएपछि धर्म प्रचारकको सम्पर्कमा आएको बताउँछिन् । उनी पनि गाउँ फर्केर इसाई धर्म फैलाउने अठोटमा छिन् । –समाचार र तस्बिर स्राेत : बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *