एनभीए क्लब च्याम्पियनसिप : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिस च्याम्पियन

तीन पाकिस्तानी खेलाडी समावेश भएको हेल्प नेपाल स्पोर्ट्स क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फ सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्दा पुलिसले पनि साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लबमाथि ३–२ प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा हेल्प नेपालले २५–२२, २६–२४ र २५–२३ को सेटमा जित निकालेको हो । यससँगै हेल्प नेपालले यसअघि सम्पन्न भएका तीन प्रतियोगितामा फाइनलमा भोगेको हारको बदलासमेत लिएको छ । हेल्प नेपाल यसअघि आर्मीसँग क्लब च्याम्पियनसिप, क्लब लिग र टाइगर कपमा फाइनलमा पराजित भएको थियो । च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद ४ लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पुलिसलाई हराएको एपीएफले १ लाख रुपैयाँ हात पारेको छ ।

यस्तै महिलातर्फको फाइनल भिडन्तमा पनि साविक विजेता उपविजेतामा खुम्चियो । साविक विजेता न्यू डायमण्डलाई पराजित गर्ने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो । पछि पर ेपनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट २५–२७ ले न्यु डायमण्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जित निकाल्दा खेल पाँचौ सेटमा लम्बिएको थियो । पाँचौं तथा निर्णायक सेटमा पुलिसले १५–११ ले आफ्नाे पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । यससँगै पुलिस २०६९ साल पछि प्रतियोगिताको च्याम्पियन बनेको छ । यससँगै पुलिसले यस प्रतियोगिताको उपाधि दोस्रो पटक उचालेको छ ।

रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै चार लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यू डायमण्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीलाई ३–२ को सेटमा पराजित गरेको एपीएफले नगद एक लाख रुपैयाँ हात पारेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *