अब प्रहरी नेतृत्वका लागि व्यक्तिगत विवरण लिएर शक्तिकेन्द्र धाउनु पर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन्।

पुस २८ गते भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डीआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए। विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भए तापनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको भन्दै प्रदेशमा कुनै पनि राजनीतिक आग्रह वा पूवाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन्।

प्रहरी संगठनमा रहेपछि आदेशको पालना अनिवार्य गर्नुपर्ने भन्दै उनले कानूनबमोजिमका आदेशको पालना गर्न पनि निर्देशन दिए। अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्तिकेन्द्रमा व्यक्तिगत विवरण (सीभी) लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गरे। प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उनको निर्देशन थियो।

प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरूलाई उनले सधैं पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गरेका छन्। कसैको प्रभाव वा दबाबमा नपरी नागरिको साथी बन्ने गरेर नियम कानूनको पालनमा दृढ रहन पनि मन्त्री लामिछानेले निर्देशन दिए। संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्तिकेन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उनले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने पनि बताए।

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाएका डीआईजीहरूको क्षमता मूल्यांकन गरेर संगठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर