जग्गाको नक्सा परिवर्तन आरोपमा रूपन्देहीका तत्कालीन नापी अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

एक जना व्यक्तिले खरिद गरेको जग्गाको क्षेत्रफल घटाएर नक्सा परिर्वतन गरेको आरोपमा नापी कार्यालय, रूपन्देहीका तत्कालीन नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रूपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

विशेष अदालतमा दर्ता भएको मुद्दामा अधिकृत दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसहित ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनीहरूले रूपन्देही जिल्ला, साविक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ।

यस्तै उक्त कार्यमा मतियारको भूमिका खेलेको भन्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *