घुमुवा प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न कार्यविधि संशोधनको तयारी

प्रहरी प्रधान कार्यालयले सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न कार्यविधि संशोधन गर्ने भएको छ। घुमुवा प्रहरीसमेत भनिने सादा पोसाकका प्रहरीको गैरव्यावसायिक गतिविधिका कारण प्रहरी संगठनको बदनामी बढेपछि त्यसको नियमनका लागि कार्यविधि संशोधनको तयारी गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई यससम्बधी प्रतिवेदन बुझाएको छ। प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्न लागिएको हो। कार्यविधिविपरीत सादा पोसाकमा कसैलाई खटाउन नपाइने प्रावधान लागू गर्न लागिएको हो।

प्रतिवेदनमा पछिल्लो चार वर्षको ट्र्याक रेकर्ड हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउनुपर्ने सिफारिस गरिएको छ।

सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ। जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ। घुमुवा प्रहरीको गैरव्यावसायिक गतिविधि नियमन र पारदर्शिता पनि हुने भएकाले यस्तो प्रणाली सिफारिस गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए।

हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन्। जसका कारण सादा पोसाकका प्रहरीहरू आपराधिक गतिविधिमा संलग्न हुँदा प्रहरी संगठनकै बदानाम हुने गरेको छ। यस्तो कार्य रोक्नका लागि सुधार थालिएको डीआईजी राईले बताए।

डीआईजी राईका अनुसार अब जोकोहीले पनि सादा पोसाकमा काम गर्न पाउने छैनन्। असल चालचलन भएको, अध्ययन र अन्वेषण गर्न सक्नेलाई मात्र उनीहरूको पृष्ठभूमि हेरेर सादा पोसाकमा खटाउन पाइनेछ।

सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन। प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन्। सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोसाकका प्रहरी विवादमा पर्ने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर