प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्ने

इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

इटहरीको जनता पार्कमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यस्तै अर्को खेलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो। यससँगै विभागीय टोली एपीएफ पहिलोपटक प्रधानमन्त्री कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाउने क्रममा सुदूरपश्चिम प्रदेशले शुक्रबार मधेस प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित निकालेको हो। सुदूरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ६६ रन जोड्न सक्यो। मधेसका लागि ओपनर एलिशा यादव, सीमा कुँवर र प्रतिमा साहले दोहोरो अंकको स्कोर गर्नु बाहेक अन्यले राम्रो स्कोर छुन सकेनन्। प्रतिमाले सर्वाधिक १९ रन जोड्दा सीमाले १६ र एलिशाले १४ रन जोडेका हुन्। मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका मनिष चौधरी र ऋतु कोनुजियाले समान २/२ विकेट निकाल्दा कविता कुँवर र स्नेहा महराले १/१ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै २० ओभरमा दुई विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनरद्वय विन्दु रावल र कविता कुँवरले अर्धशतकीय पारी खेले। कविताले ५४ बलमा १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाउँदा अविजित रहेकी विन्दुले ५२ बलमा ९ चौका मद्दतमा अविजित ६० र कविता जोशीले १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडिन्। विन्दुले पहिलो विकेटका लागि कविता कुँवरसँग १ सय २८ तथा दोस्रो विकेका लागि कविता जोशीसँग ५२ रनको साझेदारी गरेकी थिइन्। दुई विकेट निकाल्ने क्रममा मधेसका लागि भूमि सिंह र सान प्रविनले समान एक विकेट लिए।

यस्तै शुक्रबार नै सम्पन्न दिनको दोस्रो सेमिफाइनलमा खेलमा साविक विजेता एपीएफ प्रदेश १ सँग ८ विकेटले स्तब्ध बन्यो। एपीएफले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य प्रदेश १ ले ९ ओरभमा दुई विकेटको क्षतिमा भेटाउँदै सुदूरपीश्चमसँगको भेट पक्का गरेको हो। प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० तथा काजल श्रेष्ठ र अप्सरी बेगमले समान ९/९ रन जोडे। बलिङतर्फ एपीएफका लागि नेरी थापाले एक विकेट लिइन् भने एक खेलाडी रन आउट हुन पुगेकी थिइन्।

यसअघि टस जितेर ब्याटिङ थालेको विभागीय टोली १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको झिनो योगफल तयार पारेको थियो। एपीएफका लागि कप्तान सीता राना मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्रदेश १ का लागि संगीता राई र अलिशा खडियाले समान ३/३ तथा तथा सबनम राईले दुई विकेट लिँदा दुई खेलाडी रन आउट हुन पुगेका थिए। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *