राजनीतिक निकटदेखि व्यापारीसम्म सर्लाहीको बाटो हुँदै लाखौं रुपैयाँ बोकेर किन भारत जाँदै थिए ?

सर्लाही प्रहरीले ५ माघ र ३० पुसमा प्रहरी प्रधान कार्यालयमा टिपाएको घटना टिपोट अनुसार दुई फरक घटनामा करिब २१ लाख रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउपर्ने सबैको कनेक्सन काठमाडौंमा देखिन्छ । उनीहरु काठमाडौंबाट एउटा टोली कारमा र अर्को टोली पैदलनै मधुवनी बजारबाट नगद बोकेर भारत जाँदै थियो ।

सर्लाही प्रहरीका अनुसार यसरी स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव रमेश भनिने तारानिधि पन्त, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने ३२ वर्षीय प्रलाद चापागाई, सोही नगरपालिका २ बस्ने २७ वर्षीय सनम बस्नेत, सोही नगरपालिका ८ बस्ने ३६ वर्षीय शिव चापागाई र ४८ वर्षीय कृष्ण दाहाल रहेका छन् ।

पक्राउ परेका पन्त र त्रिपाठी १० लाख ३३ हजार रुपैयाँसहित ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

यस्तै स्रोत नखुलेको १० लाख ४५ हजार रुपैयाँ सहित अन्य चारजनालाई प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१ -०२५ च १७९४ नम्बरको कारलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले दुबै समूह बिरुद्ध अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको पर्दाफासलाई बताए । उनले यतिठुलो रकम लिएर काठमाडौं र काभ्रेका ब्यक्तिहरु किन भारत जाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हामी रकम लिएर किन भारत जाँदै थिए भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं । ‘ उनले पक्राउ परेका दुबै समूहबीचकाे सम्बन्धका विषयमा समेत अनुसन्धान भइरहेकाे दाबी गरे ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सर्लाही नाका पछिल्लाे समय रक्त चन्दन काराेबारीहरुले प्रयाेग गरिरहेकाे उजुरी परेकाे छ ।

प्रधान कार्यालयमा परेको मौखिक उजुरी अनुसार यो समूहले उक्त रकम अवैध रक्त चन्दन कारोबारका लागि भारतीय समूहलाई बुझाउन लगिरहेको थियो ।सर्लाही नाकाबाट अन्य तस्करी र अपराध रोकथाम गरिएको देखिएपनि सर्लाही नाका भएर रक्त चन्दनको कारोबार भइरहेको दाबी उजुरीमा गरिएको छ ।

यसमा काठमाडौंमा रहेका केही पुराना खेलाडीको समेत संलग्नता रहेको थियो ।

‘हामीले काठमाडौंबाट समेत यो घटनाका विषयमा हेरिरहेका छौं, सीमामा स्रोत नखुलेको रकम बरामद हुनु नौलो होइन, तर सर्लाहीमा केही दिनको अन्तरमा बरामद भएको रकम र पक्राउ परेका ब्यक्तिको कनेक्सनले सीमाबाट ठुलै अपराध भइरहेको संकेत गरेको छ, ‘ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर