पोखरा विमान दुर्घटना : अत्यधिक जलेका कारण १४ जनाको शव पहिचान गर्न समस्या

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। ‘ती शव अत्यधिक रूपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ,’ उनले भने, ‘आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौं।’

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने छ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डीएनए परीक्षण गरिने विभागका प्रमुख डा. चौधरीले बताए। डीएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।

फरेन्सिक जाँचका लागि काठमाडौंमा ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जनाको फरेन्सिक जाँच गरिएको छ। यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *