जनकपुरका दुई युवाको भारतमा हत्या प्रकरण : धनुषामा दुई र भारतमा तीन जना पक्राउ

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा पाँच जना पक्राउ परेका छन्। दुई जना धनुषामा र तीन जना भारतमा पक्राउ परेका हुन्। उनीहरूको परिचय गोप्य राखिएको छ।

१३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ का २२ वर्षका विष्णु साहको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा धनुषाका दुई जनाको संलग्नता देखिएपछि पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। यस्तै भारतीय प्रहरीले भारतमा तीन जना भारतीयलाई पक्राउ गरेको डीएसपी क्षेत्रीले बताए। घटनामा अन्य केहीकाे पनि संलग्नता देखिएकाे र फरार रहेका उनीहरूकाे खाेजी भइरहेकाे डीएसपी क्षेत्रीले बताए।

मृतक युवाहरू साथीसाथी हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए। गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरूले बताएका छन्। अपहरणकारीले विष्णुका परिवारलाई फोन गरेर सुरुमा २० लाख मागेका थिए। २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए। भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ। विष्णु र रोहित परिवारको एक्ला छोरा थिए। क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन्। मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकै ठाँउ बस्दै आएको भए पनि अंशबन्डापछि अलगअलग भएका थिए।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरूले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर