म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा आज दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *