सुर्खेत गाडी दुर्घटना : स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति

दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरूको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २:३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो। त्यसमा स्वास्थ्यकर्मीहरूको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, संघसंगठनले शोक वक्तव्य जारी गरेका छन्।

सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका बताएका छन्।

उक्त दुर्घटनामा परी स्वास्थ्यकर्मीहरू क्रमशः दैलेख डुंगेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बीसी घाइते भएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइते भई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने सागर शाहीसहित तीन निरीक्षकको आइतबार बिहान ५ बजे मृत्यु भएको थियो।

भैरवी गाउँपालिका–५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूरज कार्कीले जानकारी दिए।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरूलाई शनिबार एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो यसैगरी नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा आएको जनाइएको थियो।

कार्यक्रम सम्पन्न भएपछि उनीहरू भेरीगंगा नगरपालिका–१ मा बेलुकाको खाना खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए। मृतक सबैको सुर्खेतस्थित प्रदेश अस्पतालमा शव परीक्षण गरी आइतबार नै परिवारलाई बुझाइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर