जनकपुरका दुई युवाको भारतमा हत्या प्रकरण : प्रहरीले लापरबाही गरेको भन्दै आफन्तको प्रदर्शन

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्। मृतकका आफन्त र स्थानीयहरूले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन्।

पुस २७ गतेदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ का २२ वर्षका विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो। हत्यामा संलग्न रहेको अभियोगमा धनुषा प्रहरीले धनुषामा दुई जना र भारतीय प्रहरीले भारतमा चार जनालाई पक्राउ गरेको छ।

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए। तर, अपहरणकारीले फिरौतीको रकम बढाउँदै गएपछि परिवारले प्रहरीलाई खबर गरे। त्यसपछि भारतीय सीमा गाउँमा उनीहरू दुवैको हत्या भएको हो।

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा २० लाख मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए। विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भयो। तर अपहरणकारीले रकम बढाएर ५० लाख भन्दै बार्गेनिङ गरेको थियो। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरूले प्रहरीमा खबर गरेका थिए। मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए। उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए। विरोध प्रदर्शनमा उनीहरूले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए।

उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको बताए। उनले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर